लोकप्रिय

लोकप्रिय

देउवालाई दलको नेताबाट हटाउने गगनको अभिव्यक्तिले कांग्रेस केन्द्रीय समिति गरमागरम


देउवालाई दलको नेताबाट हटाउने गगनको अभिव्यक्तिले कांग्रेस केन्द्रीय समिति गरमागरम

सानेपामा भइरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक एजेन्डामा मात्रै केन्द्रित छैन।

छलफल गर्न १० एजेन्डा छन्, तर अधिकांश केन्द्रीय सदस्यले एजेन्डा केन्द्रित धारणा राख्दैनन्।

उनीहरू गुट केन्द्रित भई बहकिएका छन्।

कोही सभापति शेरबहादुर देउवाको प्रशंसामा समय खर्च गर्छन् त कोही महामन्त्री गगन थापाका अभिव्यक्तिमा रोष जनाउँछन्।

कांग्रेसको आधिकारिक फेसबुकबाट लाइभ गरिएको बैठक कुनैकुनै बेला गरमागरमा पुग्छ।

संसदीय दल नेता फेर्ने महामन्त्री थापाको अभिव्यक्तिलाई केन्द्रीय समितिमा प्राथमिकताका साथ उठाइएको छ।

 

‘अहिलेको आवश्यकता संसदीय दल नेता फेर्ने हो? सभापति फेर्ने हो?,’ केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले शुक्रबारको केन्द्रीय समितिमा प्रश्न गरे, ‘अहिलेको आवश्यकता पार्टी मजबुद बनाउने, सुशासन र डेलिभरी दिने हो।’

उनले संसदीय दल नेता वा सभापति परिवर्तन गर्न अहिले असम्भव रहेको बताए।

‘के सभापति वा संसदीय दल नेता अहिले परिवर्तन गर्न सम्भव छ?,’ उनले भने, ‘यो उचित छ? यो बाटो हिँडेर कांग्रेसलाई कहाँ पुर्‍याउन खोजिएको हो?’

गत मंसिरमा प्रतिनिधि सभा चुनाव भएपछि कांग्रेसले पुस ६ गते संसदीय दल नेता चयन गरेको थियो। देउवा ६४ सांसदको समर्थनमा चुनाव जिते, गगनलाई जम्मा २५ मत आएको थियो।

उक्त मत हेर्दा तत्काल संसदीय दल नेता परिवर्तन गर्न सम्भव नहुने कार्कीको तर्क छ।

‘आजैका मितिदेखि संसदीय दल नेता फेर्ने कुरा करेक्सन गरेर पार्टी एकताबद्ध बनाएर जानुपर्छ,’ महामन्त्री थापालाई लक्षित गर्दै कार्कीले भने, ‘कांग्रेस उल्टो बाटोमा हिँड्न भएन भनेर शुभेच्छुक र कार्यकर्ताले भनेका छन्।’

उनले पार्टी एकताबद्ध गराएर मात्र पुनर्जागरण ल्याउन सकिने बताए। ‘हामीसामु प्रतिकूलता र चुनौतीका चाङ छन्, तिनीहरूलाई बिर्सेर आफू केन्द्रित मात्र भएर जाने? कामकुरो एकातिर कुम्लो बोकी कतातिर भन्ने उखानजस्तो परिस्थिति नहोस्।’

गण्डकीका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि संसदीय दल नेता फेर्छु भन्दै भ्रम नछर्न आग्रह गरेका छन्।

विधानले संसदीय दल नेता छान्ने र हटाउने व्यवस्था गरेकोले सक्नेले संसदीय दल नेता बदलेर देखाउन उनले चुनौती दिए।

‘संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था छ। यो अभ्यास गर्न सभापतिले पनि रोक्न सक्नुहुन्न,’ उनले केन्द्रीय समितिमा भने, ‘तर कुन समयमा संसदीय दल नेता चयन गर्ने र हटाउने हो? संसदीय दल नेता हटाउँछु भन्दै हिँडेर अतिरञ्जित नगरौं।’

केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले संसदीय दल नेता फेर्ने विषयमा महामन्त्री थापालाई पर्खेर अघि बढ्न भनेका छन्। उनले भने, ‘गगनजी प्लिज वेट।’

समय र परिस्थिति ख्याल नै नगरी अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।

‘एउटा व्यक्ति विशेषलाई संसदीय दल नेता र सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्याल नै नगरी बेमौसमी बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्न कि, त्यतातिर ध्यान जाओस्,’ उनले भने।

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सभापतिको विकल्प खोज्छु भन्नेहरूकै विकल्प खोज्ने दिन नआओस् भनेकी छन्।

‘दुवै महामन्त्रीलाई आग्रह छ- कांग्रेस बलियो बनाउने, एकढिक्का बनाउने, सही मार्गचित्रमा लैजाने र सबैको नेतृत्व लिने गरी अघि बढ्नुहोला,’ उनले भनिन्।

महामन्त्रीहरूलाई दायरा फराकिलो बनाउन उनले आग्रह गरिन्।

‘तपाईंहरू अरू कसैको विकल्प खोज्छौं भन्दै हिँड्नुभएको छ, तपाईंहरूको विकल्प पनि हामीले खोज्नुपर्ने अवस्था नआओस्,’ खतिवडाले चेतावनी दिइन्।

उनले पार्टी बलियो बनाउन महामन्त्रीहरू पनि सभापति र उपसभापतिसँग उभिनुपर्ने बताइन्। ‘तपाईंहरूको हरेक गतिविधिको हामीले अवलोकन र मूल्यांकन गरिरहेका छौं,’ उनले भनिन्।

केन्द्रीय सदस्य राजिव ढुंगाना भने कुनै विषयलाई लिएर सभापति वा महामन्त्रीहरूलाई खुल्याउन नहुने बताउँछन्।

‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं, सभापतिलाई खुइल्याउन पाए सबैभन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेझैं गरी खुइल्याउँछौं,’ उनले भने, ‘पदाधिकारी र महामन्त्रीलाई खुइल्याउन व्यस्त छौं। ए महामन्त्रीहरू तिमीहरू अर्काको आलोचना गरेर स्थापित हुने भनेर खुइल्याउन लागेका छौं।’

सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पदाधिकारीहरूलाई अनुशासनमा रहन आग्रह गरेका छन्।

‘एकआपसमा हिलो छ्याप्ने र समाप्त पार्न लाग्यो भने हाम्रो सैद्धान्तिक निष्ठाप्रति नै प्रश्न उठ्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट