भाद्र- १७, हेटौंडा । पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने यात्रुहरूलाई हेटौंडामा निःशुल्क खाना खुवाइने भएको छ।

नागरिक समाज मकवानपुरको आयोजनामा हेटौंडा–१ स्थित भाटभटेनी अगाडि यात्रुहरूका लागि बिहिवारबाट निःशुल्क खाना वितरण गर्न लागिएको हो। लामो दूरीको यात्रा, बाटोको समस्या तथा समयको चापका कारण भोकै यात्रा गर्नुपर्ने यात्रुहरूलाई लक्षित गरी यो सेवा सुरु गर्न लागिएको कार्यक्रम संयोजक रमिला सापकोटाले जानकारी दिएकि छिन।संयोजक सापकोटाका अनुसार भोलिदेखि बिहान ११ बजेदेखि यात्रुहरूलाई खाना निःशुल्क उपलब्ध गराइनेछ। पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने दाजुभाइ तथा दिदीबहिनीहरूलाई सेवामा सहभागी हुन आग्रह गरिएको छ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहकार्य रहेको आयोजकले जनाएको छ ।