असार- ३१, काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले देशभर सञ्चालन गरेको 'हाइ-अलर्ट' अभियान अन्तर्गत लागुऔषध तस्करीको अर्को एउटा ठूलो सञ्जालमाथि प्रहार गरेको छ। ब्यूरोको विशेष टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीबाट भारी परिमाणको खैरो हेरोइनसहित तीन जना कारोबारीलाई नियन्त्रणमा लिन सफल भएको हो।
ब्यूरोका अनुसार असार २७ गते प्राप्त एक विशेष र भरपर्दो सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। निगरानी र योजनाबद्ध घेराबन्दीका क्रममा लोकन्थलीबाट तीन सय (३००) ग्राम खैरो हेरोइनसहित तीन जनालाई रंगेहात पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–३, काठमाडौँमा बस्ने बर्ष २७ का मनिष श्रेष्ठ,नागार्जुन नगरपालिका–३, काठमाडौँमा बस्ने बर्ष २९ का रोहित महर्जन र काठमाडौँ महानगरपालिका–१६ मा बस्ने बर्ष २० का सम्भव बस्नेत रहेका छ्न ।
धरौटीमा छुटेका मनिष श्रेष्ठ फेरि प्रहरी नियन्त्रणमा
पक्राउ परेकामध्ये २७ वर्षीय मनिष श्रेष्ठ पुराना लागुऔषध कारोबारी रहेको खुलेको छ। उनी यसअघि पनि लागुऔषध मुद्दामै पक्राउ परेर सजाय भोगिसकेका व्यक्ति हुन्। वि.सं. २०८२ जेठ २६ गते मात्रै ७ महिनाको कैद सजाय भुक्तान गरी रु. १ लाख धरौटीमा रिहा भएका मनिष जेलबाट छुटेको एक वर्ष नपुग्दै पुनः सोही अवैध धन्दामा सक्रिय रहेको अवस्थामा समातिएका हुन्।
बरामद भएका सामानहरू
खैरो हेरोइन ,३०० ग्राम
स्कुटर ,प्रदेश–३–०२००८ प ५३७८ (कारोबारमा प्रयोग गरिएको)
मोबाइल फोन, ३ थान


लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सुबास बोहराले नेतृत्व सम्हालेयता ब्यूरोले अनुसन्धान, निगरानी र 'स्ट्राइक अपरेसन' लाई तीव्र बनाएको छ। केवल खुद्रा बिक्रेता समात्ने मात्र नभई, अन्तर-जिल्ला तस्करी सञ्जाल भत्काउने र उनीहरूको आर्थिक स्रोतको समेत जरैदेखि अनुसन्धान गर्ने रणनीति ब्यूरोले लिएको छ।ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीको प्रभावकारी परिचालन, कमाण्ड र सूचनाको आधारमा पछिल्ला दिनहरूमा ब्यूरोले खैरो हेरोइन, कोकिन, गाँजा, चरेस र ट्रामाडोल जस्ता घातक लागुऔषधको संगठित सञ्जालमाथि निरन्तर ठूलो सफलता हासिल गरिरहेको छ।
पक्राउ परेका तीनै जना विरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रवक्ता एसपी दुर्गा राज रेग्मीले जानकारी दिएका छन्।