असार -३०, काठमाडौं । वर्षौँदेखि सहकारीमा आफ्नो पसिनाको कमाइ फसेर छटपटीमा रहेका साना बचतकर्ताका लागि राहतको ढोका खुलेको छ। बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत रकम औपचारिक रूपमा फिर्ता गर्न सुरु गरेको छ।
ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित एक विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता अभियानको 'ऐतिहासिक' शुभारम्भ गरे।
"यो राज्यको दायित्व हो, नागरिकलाई न्याय दिएरै छाड्छौँ"
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सहकारी पीडितलाई न्याय दिलाउनु सरकारको पहिलो सर्त रहेको बताए। केही स्वार्थी र गैरजिम्मेवार सञ्चालकका कारण सिङ्गो सहकारी क्षेत्र नै बदनाम भएको भन्दै उनले बदमासी गर्ने कसैलाई पनि नछाडिने चेतावनी दिए।
"साना बचतकर्ताको पसिना र रगतको कमाइ फिर्ता गराउनु राज्यको अनिवार्य दायित्व हो," मुख्यमन्त्री बानियाँले भने, "बचतकर्ताको पैसा दुरुपयोग गरेर मोजमस्ती गर्ने सञ्चालकहरूलाई कानुनि दायरामा ल्याएर कारबाही गर्छौँ। कोही उम्किन पाउने छैनन्।"
मुख्यमन्त्री बानियाँले सहकारीमा गुमेको जनविश्वास फर्काउन र पीडितलाई तत्काल राहत दिन सरकारले यो ठोस कदम चालेको बताउँदै अब इमानदार सहकारीलाई प्रोत्साहन र बेइमानहरूमाथि कडा निगरानी राखिने स्पष्ट पारे।
तथ्याङ्कमा सहकारी संकटको ऐना
सूचकविवरण
समस्याग्रस्त सहकारी = ५ वटा
पीडित बचतकर्ता=१४,६४ जना
कुल मागदावी रकम = रु २२ अर्ब ३८ करोड
कालोसूचीमा परेका ठूला ऋणी =११४ जना
(समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार गत जेठ २२ गते नै ती सहकारीका ११४ जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गरी तत्काल ऋण चुक्ता गर्न अल्टिमेटम दिइसकिएको छ।)
कसरी हुँदैछ फिर्ता ?
पहिलो चरणमा साना बचतकर्ताहरूको पहिचान गरी उनीहरूको बचत फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकता दिइएको छ। क्रमिक रूपमा ठूला बचतकर्ता र ऋण असुली प्रक्रियालाई अगाडि बढाइने बागमती प्रदेश सरकारले जनाएको छ।
उच्च तहको उपस्थिति
बचत फिर्ता गर्ने ऐतिहासिक क्षणको साक्षी बन्न सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, सहकारी अभियन्ता, सरकारी अधिकारी र ठूलो संख्यामा पीडित बचतकर्ताहरूको उपस्थिति रहेको थियो। वर्षौँदेखि रोक्का रहेको आफ्नो रकम हात पर्न थालेपछि उपस्थित बचतकर्ताका आँखामा खुसीका आँसु देखिन्थे।