असार - २५, चितवन । विद्यालय शिक्षामानै वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाई र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरुलाई ज्ञान र सचेतनाको लागि अनिवार्य वृक्षारोपण कार्याक्रम अन्तर्गत नेपाल पुलिस स्कुल चितवनले एक विद्यार्थी एक विरुवा अभियान शुरुवात गरेको छ ।
हरेक विद्यार्थी, शिक्षक, कर्मचारीलाई विद्यालयले विरुवा उपलब्ध गराउने र सबैले आ-आफ्नो घरमा वृक्षारोपण गर्ने कार्यक्रम अन्तर्गत आज नेपाल पुलिस स्कुल शान्तिपुरले हरेक विद्यार्थी, शिक्षक एवम कर्मचारीलाई विभिन्न जातका विरुवा वितरण गरेको हो । सुरक्षा, शिक्षा, अनुशासन र सामजिकता वातावरण संरक्षणमा नेपाल पुलिस स्कुलको सहभागीता भन्ने मुल उद्देश्यका साथ शुरुवात गरीएको कार्यक्रममा आज ८ सय भन्दा बढि विरुवा वितरण गरीएको छ । शारिरीक तन्दुरुस्ती, अनुशासन र उत्कृष्ट शिक्षाको लागि महत्वपुर्ण योगदान गरीरहेको नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले विद्यार्थीहरुलाई नैतिक एवम सामाजिक व्यवहारको सम्बन्धको बारेमा विभिन्न कार्यक्रम एवम गतिविधी मार्फत ज्ञान सिप प्रदान गर्दै आईरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज निजिकै रहेको यस स्कुलले वातावरण संरक्षण, वन्यजन्तुको सुरक्षाका साथै स्थानीय पर्यटन सम्बन्धी विभिन्न तवरले विद्यार्थीहरुलाई सचेतना गर्दै आएको र यस शैक्षिक सत्रमा विद्यार्थीहरुलाई हरित गाउँ, हरित शहर, हरियाली नेपालका लागि वृक्षारोपण अभियान शुरुवात गरीएको स्कुलका समादेशक रोशन थापाले जानकारी दिए । एक विद्यार्थी एक विरुवा अभियान अन्तर्गत हरेक विद्यार्थीले आफुलाई मन परेका विभिन्न प्रजातीका विरुवा मध्ये कुनै एक प्रजातीका विरुवा छनौट गरी लैजाने र आ-आफ्नो घरमा परिवारसंग मिलेर वृक्षारोपण गर्ने गरी कार्यक्रम संचालन गरीएको समादेशक थापाले बताए ।

विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक एवम विद्यार्थीहरुलाई विद्यालयले विभिन्न प्रजातिका एक-एक विरुवा गरी करिव ८ सय विरुवा वितरण गरीएको हो ।
कक्षा दशमा अध्ययन गर्नेले एक दिन अनिवार्य सामाजिक सेवा गर्ने, विद्यालय शिक्षामै आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्ने, खेलकुद अन्तर्गतका विभिन्न विधामा नियमित प्रशिक्षण प्रदान गर्ने लगाएतका शैक्षिक एवम व्यवहारीक ज्ञान सिप प्रदान गर्ने लक्ष्य सहित विभिन्न कार्यक्रम संचालन गरीरहेको नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा कक्षा एक देखी दश सम्म गरी सात सय भन्दा वढि विद्यार्थी अध्ययनरत छन । शैक्षिक सत्र २०८२ को SEE मा सत प्रतिशत नतिजा हासिल गरेको विद्यालयले विद्यार्थीहरुलाई नैतिक, सामाजिक, सांस्कृतिक एवम स्वास्थ्यका साथै शैक्षिक गतिविधीलाई प्रभावकारीरुपमा संचालन गरेको समादेशक थापाले बताएका छ्न । वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाई र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरुलाई ज्ञान र सचेतनाको लागि एक विद्यार्थी एक विरुवा अभियान अन्तर्गत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक कमल थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक एवम कर्मचारीहरुले विद्यार्थीहरुलाई विभिन्न प्रजातिका विरुवा वितरण गरेका थिए ।

यसरी वितरण गरीएको विरुवाको संरक्षण, हेरचाह लगाएतका बिषयमा शिक्षकहरुबाट विद्यार्थीहरुलाई ज्ञान सिप प्रदान गर्ने एवम आ-आफ्नो घरमा रोपिएको विरुवाको अवस्थाको सम्बन्धमा समेत शिक्षकबाट नियमित अनुगमन समेत गर्ने गरी एक विद्यार्थी एक विरूवा कार्यक्रम संचालन गरीएको हो ।