लोकप्रिय

लोकप्रिय

असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न सांसदहरुको माग


असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख गर्दै समयमै मल, बीउ र कृषि औजारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अच्युतम लामिछानेले मल, बीउ, कृषि औजार उपलब्ध गराएर समस्या किसानका समाधान गर्न माग गरे । सांसद अनुष्का श्रेष्ठले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या समाधान गर्न माग गरिन् । सांसद अप्सना बानुले विदेशमा रोजगारी गर्न गएर ज्यान गुमाएकाको शव ल्याउन असहज हुने गरेको बताउँदै वैदेशिक रोजगारीमा जानेहरुको जीवनका बारेमा पनि ध्यान दिन माग गरिन् ।

सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्तिका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरे । सांसद अमृता विकले अदालतसँग नबाझिने गरी सरकारले निर्णय लिनुपर्ने सुझाव दिइन् ।

सांसद अम्बिकादेवी सङ्ग्रौलाले अर्बौको इन्धन आयात गर्नुभन्दा स्वदेशकै ऊर्जा उपयोग गर्न माग गरिन् । सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाकाको भर्खर ट्रयाक खोलिएकाले पूरा गर्न स्रोत सुनिश्चित गर्न माग गरे ।

सांसद अशोककुमार चौधरीले स्थानीय तहले राजनीतिक भागबण्डाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गरेकाले त्यसो नगर्न माग गरे । सांसद आकृति अवस्थीले डिजिटल बैङ्किङ प्रणालीलाई थप विश्वसनीय र सहज बनाउन माग गरिन् ।

सांसद आर्यन राईले विदेशमा रोजगारी गर्न जानेका लागि सरकारले फ्रि टिकट फ्रि भिसा भने पनि कामदारले लाखौँ नतिरी विदेश जान नपाउने गरेकाले यसको छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरे । सांसद आशा झाले मोरङ सुगमको पनि दुर्गम ठाउँ बताउँदै ५ नं क्षेत्रको विद्युत् र टावरको समस्या समाधान गरिनुपर्नेमा जोड दिइन् ।

सांसद आशीष गजुरेलले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? भन्दै सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरे । सिन्धुली जिल्ला अस्पतालमा एक्स रे यन्त्र बिग्रिएकाले माग गरेको लामो समय भइसक्दा पनि प्राप्त नहुँदा बिरामी समस्यामा परेकाले छिटो व्यवस्था गर्न माग गरे ।

सांसद आशिका तामाङले धादिङमा पर्ने राजमार्गमा धेरै समस्या आउने गरेकाले समाधान खोज्न सरोकार भएका निकायको ध्यानाकर्षण गराइन् । विद्युतीय सवारीमा चार्ज सकिएर सवारी अलपत्र हुने गरेकाले पर्याप्त मात्रामा चार्जिङ स्टेसनको व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । सांसद इन्दिरा रानामगरले झापा अर्जुनधारा क्षेत्रको ११ बिघा जग्गाको समस्या समाधान गर्न माग गरिन् ।

  •  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट