वासिङटन डिसी: चितवनको कालिका नगरपालिकाको विकास र सम्भावना बारे अमेरिकाको वासिङटन डिसीमा चर्चा भएको छ ।
अमेरिकाको वाशिङ्टन डीसी नजिकैको फेयरफ्याक्स शहरमा ‘नेपालमा स्थानीय सरकार र विकासको मोडल’ विषयक अन्तरक्रिया कार्यक्रममा समग्र कालिका नगरपालिकाको विकास र सम्भावनाबारे चर्चा भएको हो । कार्यक्रममा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी समेत सहभागी थिए ।

प्रवासमा रहेका नेपाली समुदायसँग नगरपालिका हातेमालोगर्न समेत तयार रहेको नगर प्रमुख रेग्मीले बताए । सो अवसरमा मेयर रेग्मीले कालिका नगरपालिकामा हालसालै सुरु गरिएको स्मार्ट ठेगाना प्रणाली परियोजनाले नगरलाई स्मार्टमात्रै बनाउने काम होइन, सुन्दरपनि बनाउने विश्वास व्यक्त गरे ।
नेपालमै पहिलोपटक अमेरिकाको राजधानी वाशिङ्टन डीसीको जस्तै नमूना सडक नामकरण र घर नम्बर प्रणाली आफ्नो नगरपालिकामा सुरु गरिएको जानकारी दिए । मेयर रेग्मीका अनुसार यो प्रणाली कालिकाको पदमपुरवाट सुरु गरिएको छ । विस्तारै नगर क्षेत्रका सम्पूर्ण वडामा यो प्रणाली विकासहुनेछ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रेग्मीले प्रवासमा रहेका नेपालीहरुलाई चितवनको कालिका नगरपालिकामा लगानी समेतगर्न आग्रह गरे । लगानीको वातावरण बनाउन नगरपालिका तयार रहेको स्पष्ट पारे । कार्यक्रममा अमेरिका निवासी आईटी तथा साइबर सुरक्षा विज्ञ डा। रामहरी सुवेदीले सो परियोजनाबारे कार्यपत्र प्रस्तुत गर्दै, हालसम्मको प्रगति र आगामी योजनाबारे सहभागीहरूलाई जानकारी गराए।
कार्यक्रममा प्राध्यापक डा. विष्णु घिमिरेले स्थानीय सरकारहरूलाई प्रविधिमैत्री बनाउँदै २१औँ शताब्दी अनुकूल समावेशी र प्रभावकारी सेवा प्रवाहमा जोड दिनुपर्ने धारणा राखे।