लोकप्रिय

लोकप्रिय

मुग्लिन-नारायणगढ वैकल्पिक सडकको ‘ट्रयाक’ खुलाउन सुरु


मुग्लिन-नारायणगढ  वैकल्पिक  सडकको  ‘ट्रयाक’  खुलाउन  सुरु

मुग्लिन–नारायणगढ  खण्डको  वैकल्पिक सडकको ‘ट्रयाक’  खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त  सडकको वैकल्पिक मार्गका रुपमा  मुग्लिन–गाईघाट–दासढुंगा–ठिमुरा–गैँडाकोट  सडकको ‘ट्रयाक’ खोल्ने  कार्य सुरु भएको हो ।

उक्त  कार्यका लागि सडक विभागले चालु आर्थिक  वर्षमा दुई करोड ६९ लाख ३२ हजार रुपैयाँ  विनियोजन गरेको  छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४  पुलजीपबाट उक्त  सडकको  ट्रयाक खोल्ने काम  भइरहेको छ ।

मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुंगा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर) पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।

देवघाटका  स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका  स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले  पूरा गरेको बताए । मुग्लिन नारायणगढ  सडकखण्डको विकल्पका  रुपमा वैकल्पिक सडक निर्माणका  लागि आवाज उठाउँदै आएकामा उक्त  माग सुनुवाइ भएको  उनको भनाइ  छ ।

नवलपुरको गैंडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुंगा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुंगादेखि मुग्लिनसम्म तनहुँतर्फ  त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको जनाउँदै  सम्बन्धित निकायमा स्थानीयवासीले माग  गरेका थिए ।

उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश  भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त  योजना रद्द गरेको  थियो । उक्त सडक निर्माण  गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका  अध्यक्ष तिलबहादुर थापाले बताए ।

हाल देवघाट  गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुंङ्गा जाने सडक निर्माण  गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने उनले विश्वास व्यक्त गरे ।

हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।

देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर  कुँवरले तनहुँतर्फ अर्को राष्ट्रिय  सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि  परेको  देवघाट र आँबुखैरेनी गाउँपालिकाका  धेरै बस्तीलाई विकासको  मूलधारमा  ल्याउन सकिने बताए । वैकल्पिक  सडक बनाउन  प्रस्ताव गरिएको  गैँडाकोटदेखि मुग्लिनसम्म  करिब ३८ किलोमिटरको दूरी पर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ

ताजा अपडेट