दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।
चालक तथा सहचालकहरुले विश्राम गर्दा सम्भावित दुर्घटना न्यूनीकरण हुने र यात्रुहरुलाई पनि सुविधा हुने भनेर प्रहरी र खाँडादेवी गाउँपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।
यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामो रीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी विश्रामस्थलमा निःशुल्क खाजाको सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।
उनले भने, ‘लामोदुरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई/तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ।’